25.4 C
Makwānpur
Homeमुख्य समाचारअर्थोपार्जनमा सफल बन्दै उद्यमी महिला

अर्थोपार्जनमा सफल बन्दै उद्यमी महिला

मनिता राना

हेटौंडा/नेपालमा कुल जनसंख्याको आधा भन्दा बढी महिला छन् । तीमध्ये अघिकांश महिला अझै पनि घरायसी कामकाजमै सीमित छन् । तर, केही भने उद्यम गरेर आफ्नै खुट्टामा उभिन सक्षम पनि भएका छन् । त्यस्ता महिलाहरुले एक्लै वा संयुक्तरुपमा आफ्नो निजी सिप, पुँजी र श्रम लगानी गरी आत्मनिर्भरमात्र नभइ मनग्ये मुनाफा पनि आर्जन गरिरहेका छन् ।

सधै चुलोचौकोमा मात्र सीमित हुनुपर्छ भन्ने मान्यतालाई चिर्दै पछिल्लो समयमा महिलाहरु उद्यमी बन्ने क्रम बढ्दो छ । केही महिलाहरु उद्यम गरेर आत्मनिर्रभर भइ हाल सम्मानपूर्वक जीवन व्यतित गरिरहेका छन् । ३ वर्षअघि व्यवसाय शुरु गर्ने उद्धेश्यले स्थानीयस्तरमै अचार उत्पादन गरी यसलाई व्यवसायका रुपमा अगाडि बढाउदै आएकी एक सफल उद्यमी हुन् सुजाता बस्नेत । करिब ३ वर्षअघि उनले लघुउद्यम विकास कार्यक्रमबाट तालिम लिइ व्यवसाय शुरु गरेकी हुन् । आफूले गर्दै आएको व्यवसायमा आफ्नो परिवारको पनि राम्रो साथ रहेका कारण व्यवसायमा अझ दत्तचित्त भएर लागिन् ।

परिवारको साथले नै शुरुमा १० हजारदेखि सुरु गरेको व्यवसायबाट हाल उनी मासिक ५० हजारसम्म आम्दानी गर्न सक्ने भएकी छन् । हाल त अझ फुर्सद्का समयमा छोराछोरीले पनि उनलाई सघाउने गरेका छन् । करि ३५ वर्षीया उनले अचार व्यवसायबाट नै ५ जनाको परिवार चलाउँदै आएको अनुभव सुनाइन् । शुरुमा घरमा बच्चाहरुको आवश्यकता पूरा गर्नसमेत धौधौ पर्ने उनी हाल घर धान्नेदेखि लिएर २ बच्चालाई बोडिङ स्कुल पढाइ रहेकी छन् ।

सुरुमा पैसा कमाउन विदेश गएका उनका पति अचार व्यवसायबाट राम्रै आम्दानी हुन थालेपछि विदेशबाट फर्केर पत्नीसँगै मिलेर व्यवसाय सम्हालिरहेका छन् । आफ्नो लगानी र मेहनत सही ठाउँमा सदुपयोग गर्न जाने पैसा कमाउन विदेश जानैनपर्ने उनको बुझाइ छ । सुजाता भन्छिन्-अचार बनाउनमै निकै मेहनत गर्छु । र, गुणस्तरीय सामान प्रयोग गर्छु । महँगो परे पनि स्वास्थ्यमा सम्झौता गर्नु हँुदैन । मैले बनाएको अचार धेरैले मन पराउने गरेका छन् ।

सुजाताजस्तै सोनिका केसी पनि २ वर्षयता ब्युटीपार्लर सञ्चालन गरेर स्वरोजगार बनेकी छन् । सानै उमेरमा भागीविवाह गरेकी उनले पति र आफू बेरोजगार हुँदा निकै समस्या झेल्नु परे पनि हाल महिला उद्यमी महासंघबाट तालिम र उचित सल्लाह/सुझाव लिइ व्युटीपार्लर सुरु गरेको उनले बताइन् ।

हाल ब्युटीपार्लरबाट राम्रो आम्दानी गर्नुका साथै यस विषयमा आफूजस्तै बेरोजगार महिलालाई तालिमसमेत दिने गरेको उनले बताइन् । महिलाले व्यापार/व्यवसाय गर्नु हँुदैन भन्ने संकुचित सोचबाट बाहिर आए चाँडो आर्थिक विकास हुनेमा कुनै शंका नभएको उनको भनाइ छ । उनी फेसियल, थे्रडिङ, मसाज, मेनिकियर, पेडिकेयर, कपाल काट्नेजस्ता काममा दिनभर व्यस्त हुने गरेकी छन् । ब्युटीपार्लरबाट वार्षिक अढाइ लाख बन्दा बढी कमाउने गरेको उनले बताइन् । उनले ब्युटीपार्लरका साथै कस्मेटिक पसल पनि चलाइरहेको तर आफू पार्लरमै व्यस्त हुने भएका कारण कस्मेटिक पसल भने पतिले हेर्ने गरेका छन् । विशेषगरि उद्योग व्यवसाय क्षेत्रमा महिला सहभागिता बढ्दै गएको पाइन्छ । घरेलु तथा साना उद्यम व्यवसायमा महिलाहरुको भूमिका अत्यन्त अपरिहार्य र महत्वपूणर् रहेको महिला उद्यमीले बताएका छन् ।

मकवानपुरमा उद्यमी महिला बढ्दो रहेको देखिएको छ । महिलाहरु अर्थोपार्जनमा संलग्न भएको पाइन्छ । महिलाहरु कृषि, साना व्यवसाय, साना उद्योग र विभिन्न काममा मेहनत गरेर काम गरिरहेको पाइन्छ । हेटौंडामा प्रदेशस्तरीय परामर्श कार्यशाला गरी महिला उद्यमशीलता प्रवद्र्धनका लागि व्यवस्था गरिएको नीति तथा कार्यक्रमका विषयमा हेटौंडामा महिला उद्यमी महासंघ मकवानपुरले उद्यमी तथा सरोकारवालासँग अन्तत्र्रिmया गरेको छ । संस्था अध्यक्ष शोभा ज्ञवालीको सभाध्यक्षतामा भएको कार्यक्रममा वागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाको प्रमुख आतिथ्यता थियो ।

वागमती प्रदेश सरकार महिला उद्यमीहरुलाई कसरी अगाडि बढाउने भन्ने विषयमा गम्भीर रहेको वागमती प्रदेशका मुख्यमन्त्री लामाले बताए । प्रदेश सरकारद्वारा यसअघि पनि धेरै काम भएको उनले जानकारी दिए । महिलाले आर्जन गरेका रकम घरपरिवार देखि व्यवसाय र भान्छासम्म पुग्न सफल भएकोमा उनले खुशी व्यक्त गरे ।

प्रजातन्त्र आएदेखि महिलाहरु पनि अफिसदेखि व्यवसाय गर्न सफल भएकोमा पनि उनी खुशी छन् । महिलाले चाहेको खण्डमा धेरै सक्षम बन्नसक्नेमा उनको विश्वास छ । ‘उद्यमी बन्नका लागि लगनशील हुनु आवश्यक छ । र, ठूला उद्योग ल्याउनका लागि राज्यले पनि आर्थिक सहयोग गर्नु आवश्यक छ,’ मुख्यमन्त्री लामाले भने ।

कार्यक्रममा संस्था अध्यक्ष ज्ञवालीले महिला उद्यमीका लागि शिक्षा, स्वास्थ्य र आर्थिक स्थिति महत्वपूणर् पाटो भएको बताइन् । महिलाहरु उद्यमी हुन घरपरिवारको साथ र सहयोग आवश्यक भएको बताउँदै उनले उद्यमी बन्न महिलाहरुले गर्न सक्छु भन्ने आँट र धैर्यता राख्नु आवश्यक रहेको उनको भनाइ राखिन् । हाल प्रदेशमा महिला उद्यमी ५२ प्रतिशत् रहेको बताउँदै उनले नेपालमा उत्पादन भएका सामग्रीलाई चाँडै वैदेशिक क्षेत्रमा जोड्ने योजना बनाइएको बताइन् ।

दैनिक उत्पादित सामान नेपालीले नै प्रवद्र्धनमा जोड दिनुपर्ने हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामाको भनाइ थियो । हेटौंडा-१२ वडाबाट गुन्द्रुक उत्पादन गर्न प्रदेश सरकारद्धारा प्रवद्र्धन भइरहेको उनले जानकारी दिइन् । सरकारले पनि महिला उद्यमीलाई सहयोग गर्नुपर्नेमा उनले जोड दिइन् । मकवानपुरका उद्यमी महिला सफल हुनु नगर सफल भएको उनले बताइन् । हेटौंडामा उत्पादन थालिएको गुन्द्रुकले सरकारी मान्यताप्राप्त गरेको छ । हेटौंडा-१२, घलेगाउँमा रहेको कञ्चनजंघा कृषि सहकारी संस्था लघुउद्यम उद्योगले उत्पादन थालेको अर्गानिक गुन्द्रुक प्रयोगका लागि सरकारी मान्यताप्राप्त गरेको हो ।

लघुउद्यमीहरुले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि उपयुक्त भएको भन्दै हेटौंडास्थित खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुज्ञापत्र दिएको जानकारी दिइएको हो । उपमहानगरको लगानीमा सञ्चालन गरिएको तालिमबाट उद्यममा लागेका साना व्यवसायीमध्ये गुन्द्रुक उद्योगले पहिलो पटक सरकारी गुणस्तर मान्यताप्राप्त गरेको छ । हेटौंडामा उत्पादन भएको गुन्द्रुकको बजारी करणमा उपमहानगरपालिकाले सहयोग गर्ने नगर प्रमुख लामाले बताइन् । उनले हेटौंडा बजारसहित सम्भावना भएका क्षेत्रमा गुन्द्रुकको बजारीकरणका लागि सहयोग गर्ने प्रतिवद्धता जनाइन् ।

उनले पहिलो चरणमा हेटौंडामा रहेका साना तथा ठूला होटलमा यहाँको उत्पादन प्रयोग गर्न पहल गरी वाह्य जिल्लामा बिक्रीका लागि पनि पहल गरिने विश्वास दिलाइन् । उपमहानगरपालिकाले लगानी गरेर धेरै तालिम तथा अन्तत्र्रिmया गरे पनि सानो लगानीले यहाँका महिलालाई उद्यमी बनाउन मद्धत पुगेको भन्दै उनले उपमहानगरको लगानीमा हेटौंडामा सञ्चालन भएको कोसेली घरमार्फत् स्थानीय उत्पादनलाई बजारीकरणमा सहयोग गरिरहेको बताइन् । महिला उद्यमशीलता विकासका लागि संघ र प्रदेश सरकारका नीति, कार्यक्रम र कार्यान्वयनका लागि समन्वयसम्बन्धि नेपाल सरकार उद्योग मन्त्रालयका पूर्वसचिव यामकुमारी खतिवडाद्वारा प्रस्तुतिकरण गरिएको थियो । कार्यक्रममा घरेलु साना उद्योग कार्यालय प्रमुख रामप्रसाद भुसाल, महिला तथा बालिका मन्त्रालय महाशाखा प्रमुख चन्द्रा व्यञ्जनकार, एफडब्लुईएएन सल्लाहकार अर्पणा प्रधान, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुरलगायत महिला उद्यमीको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार