मनहरी | मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदका उम्मेदवार प्रमोद सिंह रानाभाट बुधबार आफ्नो टिम सहित मनहरीका मतदातासँग भेटघाटका लागि पुगेका छन्। व्यवसायीहरूको हितमा स्पष्ट योजना लिएर अघि बढिरहेका रानाभाटलाई मतदाताले उत्साहपूर्वक स्वागत गरे ।
चुनावी अभियानका क्रममा मतदातासँग संवाद गर्दै रानाभाटले आफू मकवानपुरका व्यवसायीहरूको समस्याको समाधान र व्यवसाय प्रवर्द्धनका लागि प्रतिबद्ध रहेको बताए । उनले नयाँ उद्योग स्थापना, एकद्वार प्रणालीको कार्यान्वयन, महिला र युवा उद्यमीलाई सहुलियत कार्यक्रम, र उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पु-याउने योजनाबारे आफ्नो दृष्टिकोण प्रस्तुत गरे।
मतदातासँगको संवादपछि रानाभाटले मतदाताबाट सकारात्मक प्रतिक्रिया पाएको बताए। “मतदाताको उत्साह र समर्थनले हाम्रो अभियानलाई अझ बलियो बनाएको छ। उनीहरूले हाम्रा योजनाहरूलाई समर्थन र भरोसा व्यक्त गरेका छन्,” उनले भने। मनहरीका व्यवसायीहरू र नागरिकहरूले मकवानपुर उद्योग वाणिज्य संघमा सशक्त नेतृत्वको खाँचो रहेको बताउँदै रानाभाटप्रति विश्वास व्यक्त गरेका छन्।
चुनाव नजिकिँदै जाँदा रानाभाटको अभियानले गति लिएको छ। व्यवसायीहरूले यो निर्वाचनलाई नेतृत्व चयनको मात्र नभई व्यवसाय क्षेत्रको भविष्य तय गर्ने अवसरको रूपमा हेरेका छन् ।
यता अध्यक्ष पदकाअर्का उम्मेदवार घोषणा गरेका अनिल अग्रवालपनि मतदाता भेटघाटमा ब्यस्त देखिएका छन् ।