हेटौँडा | सोमबार दिउसो म हेटौँडाको यातायात व्यवस्था कार्यालयको ट्राईल सेन्टरमा पुगेँ। उद्देश्य थियो— सवारी चालक अनुमत पत्र (लाइसेन्स)को वर्ग थप गर्ने। सरकारी प्रक्रिया अनुसार ट्रायल पास गरेपछि मात्र वर्ग थप गर्न सकिन्छ। तर कार्यालय पुग्नासाथ एउटा अनौठो दृश्य देखेँ— गेट बाहिर ट्रायल दिने सेवाग्राहीहरूको भिड थियो, तर भित्र एक बेग्लै खेल चलिरहेको रहेछ।
गेटमा एक जना सुरक्षा गार्डको रूपमा बसेका थिए। मेरो भित्र छिर्ने पालो आयो, भित्र छिर्ने बित्तिकै, एक जना अपरिचित व्यक्ति म सहित ४ जना बसिरहेको नजिक आए। जबकी सेवाग्राही र उनीहरुकै कर्मचारी बाहेक अरुलाई गेट भित्र पस्न दिईएको थिएन ।
“पास भैईन्छ की सेटिङ गर्ने?”, उनले सोधे।
म चकित परेँ। “सेटिङ?”
“२५ हजार दिनुस्, फेल भए पनि लाइसेन्स आउँछ,” उनले सहजै भने।
मैले केही प्रतिक्रिया नजनाई एक छिन चुपचाप उनलाई हेरेँ । एक छिन सोचे र मैले सोध्न “अनि कसरी यस्तो हुन्छ, नक्कली त् हुँदैन ?”
उनले हाँस्दै भने, “सबै थाहा हुन्छ, पास भइन्छ। तपाईँ फेल हुने कुरै छैन। बस पैसा चाहिन्छ। ट्राईल अगि नै पैसा बुझाउनुपर्छ ।”
यो सुनेर म झन् अचम्म परेँ। सरकारले तोकेको कानुनी प्रक्रिया पुर्याएर ट्रायल दिनेहरू सङ्घर्ष गरिरहेका बेला, पैसा तिर्न सक्नेका लागि भने अलग्गै बाटो रहेछ। लाइसेन्स पास गर्ने छुट्टै ‘रेट लिस्ट’ छ भन्ने कुरा खुलेआम सुनियो।
सेटिङको जालो: कसरी बाँडिन्छ पैसा?
मैले त्यस व्यक्तिसँग गम्भीर भएर सोधेँ, “यो पैसा क-कल्लाई जान्छ? तपाईँले कति पाउनुहुन्छ?”
उनले भने, “एक जनाबाट १३ सय ५० रुपैयाँ मलाई आउँछ, बाँकी सबै भित्रैका ट्राफिक र यातायातका मान्छेहरू बाँड्छन्।”
यो सुनेर झन् अचम्म लाग्यो। मतलब, यो सेटिङ एउटा व्यक्ति मात्रै चलाइरहेको होइन, पूरै प्रणाली नै यसमा जोडिएको छ।
मैले पुनः सोधेँ, “यदि म ट्रायल नै नदिई लाइसेन्स निकाल्न चाहन्छु भने पनि सम्भव छ?”
उनले सहजै भने, “त्यही त हो नि, फेल भए पनि आउँछ। अनि ट्रायल दिनै नपर्ने भन्ने चाई हुँदैन ।
मैले फेरी सोधे, “अनि कसरी यस्तो हुन्छ, नक्कली त् हुँदैन ?”
उनले भने, “ट्रायल पास गरेको केही दिन मै नागरिक एपमा देखाउँछ, कसरी नक्कली हुनु, त्यहाँ फेल लेख्ने ठाउँमा पास लेखिदिन्छन् अनि फाईलमा समेत पास लेखेको हुन्छ।”
म झन् आश्चर्यमा परेँ। ट्रायल दिनेहरू घाममा घाम खाई लाइनमा बसिरहेका छन्, तर पैसा तिरेर जानेहरुको फेल भए पनि लाइसेन्स पाउँनेवाला छन् ।
मैले नियालेर हेरेँ— बाहिर कयौँ सेवाग्राही पालो कुर्दै बसेका थिए। कोही विगतमा फेल भएर रि-ट्राईल, कोही लाइसेन्स पाउने आशामा पहिलो पटक आएका। तर, पैसा तिरेर आउनेहरू भने फेल भए नि लाइसेन्स आउँछ।
अर्का एक जना सेवाग्राही, जो मेरो छेउमै थिए, उनले भने, “ट्रायलमा उकालोमा चढ्दा ब्याक भयो भने सिधै फेलै गरिदिन्छन्, ट्राफिकले हेर्दै पास नगर्ने जस्तो गर्छ।”
उनले थपे, “यहाँ सेटिङ गर्नेहरूलाई ट्राफिकले चिन्छ, तिनलाई त केही नहेरी पास गरिन्छ।”
लाइसेन्स बिक्रीको ‘ओपन सेक्रेट’
म सँगै रहेका अन्य सेवाग्राहीहरूले गेट बाहिरै भनिरहेका थिए – यहाँ (उक्त सेन्टर) गाडी सिक्न आए पछि सिधै २५ हजार दिए पास गर्दिन्छौ भनेर भन्छ | हेटौँडाको यातायात कार्यालयमा लाइसेन्स बिक्रीको यस्तो धन्दा नयाँ भने होइन। विगतमा पनि यहाँ अनियमितता, सेटिङ, र घूसखोरीका गम्भीर आरोपहरू लाग्दै आएका छन्। तर, सम्बन्धित निकायले हालसम्म कुनै प्रभावकारी सुधार गर्न सकेको देखिँदैन ।
सेवाग्राहीहरूको गुनासो अनुसार, यहाँ ट्रायल दिनेहरूको तुलनामा पैसा तिरेर पास गरिनेहरूको संख्या उल्लेखनीय छ। यो सेटिङ खुलेआम चले पनि निगरानी गर्ने निकाय मौन बसेका छन्।
नेपालमा ट्राफिक व्यवस्थापन सुधार गर्न सरकार विभिन्न नियम ल्याउँछ, ट्रायलको प्रक्रिया कठिन बनाउँछ। तर, यस्तो सेटिङ हुँदा सडकमा अयोग्य चालकहरू निस्किरहेका छन्, जसले दुर्घटनाको सम्भावना बढाउँछ।
हेटौँडाको यातायात कार्यालयमा खुलेआम भइरहेको यो ‘ओपन सेक्रेट’ अब बन्द हुनुपर्छ। जबसम्म पैसाका भरमा लाइसेन्स पाइन्छ, सडकमा दुर्घटना बढिने रहन्छ । पछिल्लो तथ्याङ्क भन्छ, नेपालमा दैनिक ६२ दुर्घटना, ७ जनाको मृत्यु भैरहेको छ । कारण यो पनि होकी? अब सोच्ने बेला आएको छ ।
यो एक ब्लग हो। इन्फो नेपालका लेखकले प्रत्यक्ष अनुभव र सेवाग्राहीसँगको कुराकानीमा आधारित रहेर लेखिएको छ।